बिरामी बढेपछि भरतपुर अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा
भरतपुर अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपछि मंगलबाट ज्वरो क्लिनिक शुरु गरिएको छ ।
तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको अस्पताल श्रोतले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग विभागले धान्न सक्ने अवस्था नभएकाले ज्वरो क्लिनिक सञ्चालन गरिएको हो ।
अस्पतालको बहिरङ्ग सेवा लिन आएको झण्डै ५० प्रतिशत ज्वरोका विरामी पाइएपछि ज्वरो क्लिनिक सञ्चालनमा ल्याउनुपरेको बताइएको छ ।

ज्वरो क्लिनिकमा परीक्षण् गर्दा बिरामीमा डेङ्गु र ईन्फुलुएन्जा देखिएको छ । डेङ्गु देखिएमा तत्काल रगतको परीक्षण र ईन्फुलुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचारको व्यवस्था मिलाइएको छ ।
चितवनमा ३ हजार ९९५ जनाको रगतको नमूना परीक्षण गर्दा १ हजार ३१६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गुकै कारण चितवनमा दुई जनाको मृत्यु भइसकेको छ ।

