चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् ।
यसअघि कलेजले शुल्क बढी लिएकाे विराेधमा आन्दोलनमा रहेका विद्यार्थीहरू चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानकाे पक्राउको विरोधमा -यालीसहित प्रर्दशनमा उत्रिएका हुन् ।
प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेकाे थियाे । यद्यपि प्रहरीले सामान्य साेधपुछका लागि नियन्त्रणमा लिएकाे बताएकाे छ ।
चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए ।
पछिल्लाे पटक उनीहरूले नारायणगढकाे पुल्चाेकदेखि चाैविसकाेठीसम्म प्रर्दशन गरेका थिए ।
चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा विद्यार्थी आन्दोलनरत छन् ।
अभियानका संयोजक प्रकाश चन्दका अनुसार वर्तमान सरकारले मेडिकल माफियालाई कारबार्ही गर्नुको साटो मेडिकल पढ्ने बिद्यार्थीमाथी दमन गर्न लागेकाले विद्यार्थी थप आक्राेशित बनेका छन् ।
तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज बिरुद्ध नाराबाजी सहित दिनहुँ जस्ताे प्रदर्शन गर्दै आएका छन् ।
१२ देखि २० लाख सम्म बढी पैसा कलेजले असुली गरेको र त्यसको बिल भरपाई समेत केही नदिने गरेको विद्यार्थीकाे भनाइ छ ।

