नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठमा विभिन्न कार्यक्रम हुने

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । सोही अवसरमा मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त गरिएको छ ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा खतिवडालाई दूत नियुक्त गरिएको हो । नेपालका तर्फबाट प्रस्ताव गरिएपछि सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त उद्देश्य सहित खतिवडालाई सद्भावना दूत नियुक्त गरिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहनुभएका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तान सहितको टोली सहभागी भई मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरिएको हो ।

सम्बन्ध स्थापनाको सात दशक लामो यात्रा स्मरण गर्दै दुईपक्षीय सम्बन्धको प्रतीकचिह्न (लोगो) सचिव बैरागी, फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना दूत खतिवडाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको छ । सोही अवसरमा उच्चस्तरको भ्रमण, सहयोग, सहकार्य लगायतका विषयमा पनि दुईपक्षीय छलफल भएको थियो ।

Facebook Comments