जनताको मेहनतले मात्र मुलुकको विकास सम्भवः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको मेहनतले मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताउनुभएको छ । पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कामप्रति सम्मान जाग्न नसकेको तथा काममा मेहनत गर्नेहरुको जीवनस्तर सुधार हुन लागमो समय लाग्ने तर काम नगर्नेहरु रातारात धनी हुने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने मन्त्री विष्टको धारणा थियो । ‘समाजमा गलत ढंगबाट आय आर्जन गर्ने तिनैको प्रतिष्ठा हुने अवस्थाको अन्त्य गर्नुपर्छ, काम गर्नेहरुको सम्मान हुनुपर्छ प्रतिष्ठा बढ्नुपर्छ त्यसरी मात्र मुलुकको समृद्धि सम्भव हुन्छ, मन्त्री विष्टले भन्नुभयो, युवा शक्ति किन विदेश पलायन भइरहेको छ यसको गम्भीर समीक्षा हुन जरुरी छ ।’

आमाको चोली र बाबाको टोपी फेर्न विदेशिनुपर्ने बाध्यता हट्छ

मन्त्री विष्टले मुलुकमा युवाहरु अहिलेकै क्रममा विदेशिएमा केही बर्षमा बालबालिका र बृद्ध मात्रै रहने अवस्था आउन नसक्ला भन्न नसकिने उल्लेख गर्नुभयो । उहाँले अवको ५ बर्षभित्र बाध्यताले अर्थात् आमाको चोली, बाबाको टोपी, श्रीमतीको सारी फेर्न र बच्चाको स्कूलको फिस तिर्नकै लागि बाध्यताले विदेसिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

काम गर्ने उमेर समूहका व्यक्तिलाई स्वदेशमा नै सम्मान र प्रतिष्ठाको साथ काम गर्ने वातावरण बनाउने मन्त्री विष्टको भनाई थियो । उहाँले अगाडि भन्नुभयो,– “अवको ५ बर्षमा कोही रहर र धेरै तलवको आसमा विदेशिएलान् तर बाध्यताले नै कोही विदेशिनुपर्नेछैन । सरकारले त्यो वातावरण बनाउनेछ” ।

Facebook Comments