श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आरधना गरी मनाईंदै
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक बर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ भने विद्यालयमा पनि श्रीपञ्चमीका दिन पुजा आरधना गर्ने प्रचलन रहेको छ ।
आजकै दिनमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता विभिन्न नामले पुकार्ने गर्दछन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्नाकला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको पुजा आराधना गर्ने गर्दछन् ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जनविश्वास रहेको छ । गान्धर्व पुराणमा समेत श्रीपञ्चमीका दिन विद्या आरम्भ गरेमा सर्वसिद्धि हुने उल्लेख छ ।

