नेविसंघ सभापति नैनसिंह महरद्वारा पदबाट राजीनामा
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । सभापति देउवाले महरको राजिनामा स्विकृत समेत गर्नुभएको छ ।
११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको ५ महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो । महरले सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा, ’१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकोले’ राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
राजिनामा दिएपछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै महरले अब पार्टीको सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो । महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि तोकउको समय महाधिवेशन हुन सकेको थिएन ।अध्यक्ष महरलाई पछिल्लो समय आफ्नै गुटका विद्यार्थी नेताहरुले असहयोग गर्दै आएका थिए ।
नेविसंघको विषयमा पार्टीभित्रैै विवाद सुरु भएपछि पार्टी सभापति देउवाले अध्यक्ष महरलाई राजीनामा दिन दबाब दिनुभएको बुझिएको छ । अध्यक्ष महरको राजीनामा पछि नेविसंघका बारेमा के निर्णय गर्ने भन्ने बाटो खुलेको छ । पार्टीले हटाउनुभन्दा आफैँ राजीनामा दिन ठीक हुन्छ भन्दै महरले राजीनामा दिएको उहाँ निकट स्रोत बताएको छ । राजीनामा बुझ्दै सभापित देउवाले सबैको सल्लाहमा अब अघि बढ्ने बताएका बताउनुभयो ।

