भूमिसम्बन्धि समस्या समाधान नगरे कम्युनिष्ट सरकारको औचित्य रहन्न : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिको भूमिसँग सम्बन्धि समस्या समाधान गरी उत्पादन बृद्धि गर्नुपर्ने बताउनुभएको छ । भूमिहीन नागरिकका समस्या समाधान गर्न नसकेमा २ तिहाई जनमत सहितको कम्युनिष्ट सरकारको औचित्य नहुने प्रचण्डको भनाई रहेको थियो ।

पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरकारमा रहँदा भूमिसँग सम्बन्धित समस्या समाधान गर्न नसक्ने हो भने जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी नराख्ने प्रचण्डको भनाई थियो ।

निर्वाचनको घोषणापत्रमा गरिएको प्रतिबद्धता अनुरुप नै ४ बर्षभित्र भूमिको समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भूमिको समस्या, औधोगिकीकरण, उत्पादन र रोजगारी लगायतका समस्या हल गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

प्रचण्डले राजनीतिक रुपमा मात्र नभई संसदमा रहेको विचाराधीन विधेयकमा कानुनी हिसावले पनि भूमि समस्या सम्बोधन गनुे तर्फ लाग्नुपर्ने बताउनुभयो । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले मात्र समृद्धिको आजको आवश्यकता पुरा नसक्ने भन्दै प्रचण्डले उत्पादन बृद्धिका लागि प्रविधि र जमिनको चक्लाबन्दीलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

भूमी सुधार र भूमि अधिकारको विषयमा कुरा गरिरहँदा युवा श्रम गर्ने शक्ति विदेशमा रहेका छन्, प्रचण्डले भन्नुभयो, ‘निम्न मध्यम र कृषक समुदायकै युवा युवा युवती विदेशिनु परेकाले जमिन बाँझे हुन पुगेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले भूउपयोग सम्बन्धि नीति बनिसकेकाले अव जमिनको वर्गीकरण गर्ने बताउनुभयो । साथै उहाँले भूमि बैंक मार्फत् कृषि तथा पशुपालन गर्न चाहने कृषकहरुलाई जमिन उपलब्ध गराइने बताउनुभयो ।

न्याय र समृद्धिको आधार जनमुखी भूमिसुधार भन्ने नाराका साथ शुरु भएको पाँचौ राष्ट्रिय सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल, नेपाली काँग्रेसका नेता रामशरहण महत, नेकपाकी प्रतिनिधिसभामा संसदीय दलको सचेतक शान्ता चौधरी, भूमि अधिकारकर्मी जगत देउजा लगायतले सम्बोधन गरेका थिए ।

मञ्चको सम्मेलनको उद्घाटन पुर्व पोखरा–६ गाईघाट बैदामदेखि सहीद चोक, रत्नचोक र सिर्जना चोक हुँदै सभागृहसम्म ¥याली प्रदर्शन गरिएको थियो । सम्मेलनको लागि देशमा ५९ जिल्लाबाट सहभागी भएका थिए । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरस्वती सुब्बाले गर्नुभएको थियो ।

Facebook Comments