ब्रतबन्धको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना
पोखराका युवा व्यवसायी यदुनाथ अधिकारीले आफ्ना छोराको ब्रतबन्धको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । यदु र उनकी जीवनसंगिनी सरु दाहाल अधिकारीले छोराको ब्रतबन्ध सामान्य रुपमा गरेर छोराको नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
उहाँहरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको खर्च कटाएर २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गर्नुभएको हो ।
यदुनाथका बाबु स्व. कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मामार्फत विद्यालयलाई शुक्रबार सो रकम प्रदान गरिएको हो । अक्षयकोषबाट आउने व्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिनेछ ।

