नेपालमा विश्वकै लामो यात्रुबाहक केबलकार निर्माण हुने
नेपालमा विश्वकै लामो यात्रुबाहक केबलकार निर्माण हुने भएको छ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै केबुलकार निर्माण नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुने जनाएको छ। मुक्तिनाथ केवुलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ ।
आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रालिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ ।सम्झौता अनुसार, कुल जारी पूँजी मध्ये २० प्रतिशत सेयर आइडिया फर नेपाल प्रालिको रहनेछ । आइडिया फर नेपाल ४५ देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको छ ।
कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको केवुलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा ६ वटा अन्तरिम स्टेशनहरु रहने छ । घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम तिखेढुंगा, घासा र मार्फा र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले विज्ञप्तिमा उल्लेख गरे अनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययनको काम पूरा भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।
हालसम्मको अध्ययन अनुसार परियोजनामा निर्माण कालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये १५प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी ८५ प्रतिशत कर्जा रहने विज्ञप्तिमा उल्लेख छ ।

