आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा रक्षाबन्धन गरी मनाइंदै , तराइमा राखी
आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा । रक्षाबन्दन गरेर हिन्दु धर्मावलम्वीहरुले मनाउँदैछन् ।
जनै पूर्णिमा देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् ।
गुरु पुरोहितबाट नवयज्ञोपवीत( विधिपूर्वक मन्त्रिएको)जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेलेपछि अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएको भन्ने कथन रहेको छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने गर्दछन् ।
तराईमा राखी
नेपालको तराईक्षेत्रमा भने राखी बाँध्ने चलन छ । श्रावण शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गर्दछन् ।
यसबाट दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने विश्वास छ । रसुवाको गोसाइँकुण्डमा आजको दिन दर्शनार्थीको विशेष घुईंचो लाग्ने गर्दछ ।

पछिल्लाे समय पहाडी क्षेत्रमा समेत राखी बाँध्ने प्रचलन बढ्दै गएकाे छ ।
त्यस्तै काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड,ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुईंचो लागेको छ ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन छ ।
क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाल्ने र स्वस्थ हुन मद्दत गर्ने विश्वास रहीआएको छ ।

