निवर्तमान सभामुख विरुद्धको जाहेरीमा अनुसन्धान जारी

निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध परेको जाहेरीबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

दशैंको विदा भएकाले मंगलबार मात्र काडमाण्डौ जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिदैंछ ।

महराको स्वास्थ्यमा उच्च रक्तचाप लगायतका समस्या आएपछि नर्भिक अस्पतालको क्याबिनमा राखिएको छ ।

यसअघि दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको थियो ।

घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण समेत गर्ने प्रहरीको तयारी रहेको छ ।

पीडित भनिएकी महिलाको डेराबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो कि होइन भनरे प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

संसद सचिवालयमै कार्यरत महिलाले महराले आफूलाई जर्वजस्ती करणीको प्रयास गरेको भन्दै जाहेरी दिएपछि महरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको हो ।

पीडित भनिएकी महिलाले सञ्चारमाध्यमसँग र प्रहरीसँग पनि फरक फरक बयान दिदैं आएकाले प्रहरीले आफ्नो प्रक्रिया अनुसार अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले महरासँग गएका चालक, सुरक्षाकर्मी, सिसीटिभी फुटेज, महिलाको बयान लगायतका आधारमा अनुसन्धान अगाडि बढाईरहेको छ ।

Facebook Comments