डा.केसीको स्वास्थ्यकमजोर बन्दै, एन्टीबायोटिक चलाईयो
इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । मंगलबार जिल्ला अस्पताल इलामले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था अझ कमजोर हुँदै गएकाले आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको जनाइएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. वृजेशकुमार साहका अनुसार केसीलाई अन्य कुनै पनि औषधी प्रयोग गरिएको छैन् । डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उहाँको उपचारका लागि धरान स्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलाम गएको छ ।
प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादव सहित ११ जनाको टोली इलामतर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिनुभयो ।
उपकुलपति डा रौनियारका अनुसार डा. केसीलाई प्रतिष्ठानबाट गएका टोलीले आइसियूमा दिन सक्ने उपचार सेवा उपलब्ध गराउन सक्ने छन् । डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे मागराखेर पुस २५ गतेदेखि आमरण अनसन बस्दै आउनुभएको छ ।
केसीको दायाँ फोक्सोमा निमोनिया भएको, रगतमा चिनीको मात्रा कम हुँदै गएको, मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको, शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको पनि अस्पतालले जनाएको छ ।

