माघे संक्रान्ति मनाइयो

आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाइएको छ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।

Photo: THT/ File

मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइएको हो । मकर संक्रान्ति, माघे संक्रान्ति र घ्यू चाकु खाने दिनको नाममा प्रचलित यो संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको उपलक्ष्यमा यो चाड मनाउने गरिन्छ ।

माघे संक्रान्तिका दिन प्रसिद्ध धार्मिकस्थलहरु पोखराको ढुंगेसाँघु, देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लागेको थियो ।

थारु र मगर समुदायले मनाए

माघी अर्थात् थारु समुदायको नयाँ वर्ष हर्षोल्लासका साथ नेपालका विभिन्न स्थानमा बस्ने थारु समुदायले मनाएका छन् । यस पर्वका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एकापसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्दछन् ।

थारु समुदायले आफ्नो जातीय भेशभूषासँगै व्यावहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री आदिका झाँकीसहित जातीय पहिरनमा धुमरा नृत्य आदि प्रस्तुत गर्ने गर्दछन् । नवलपरासी, दाङ, कैलाली कञ्चनपुर, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटा लगायतका स्थानमा थारु समुदायले विभिन्न कार्यक्रम गरी नयाँ बर्ष मनाइएको हो । थारु समुदायले काठमाण्डौंमा ‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाएका छन् ।

मगर समुदायले काठमाण्डौको टुँडिखेलमा मकर संक्रान्तिका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । गण्डकी प्रदेशमा मकर संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिइएको थियो । माघ १ अर्थात् मकर संक्रान्ति मगर समुदायको विशेष महत्वपूर्ण चाड हो ।

मगर समुदायमा माघे संक्रान्तिलाई पितृ पुजा गर्ने तथा चेलीबेटीलाई सम्झने गरिन्छ । मगर समुदायले यस पर्वमा आफन्त भेटघाट, मिठा खानेकुरा खाने तथा शुभकामना आदनप्रदान गरी मनाउने गर्दछन् ।

Facebook Comments