साझा पार्टीकाे अलग्गै कूटनीतिक निर्देशिका जारी

साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै १३ बुँदे कूटनीतिक निर्देशिका सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले बाह्य हस्तक्षेप भयो भन्नू भन्दा पहिले कूटनीतिक प्रोटोकल के हो भन्ने कुरा नेपालको राजनीतिक नेतृत्वले बुझ्नु पर्ने बताउनुभयाे ।

सार्वजनिक गरिएकाे निर्देशिका पुराना राजनीतिक दलका लागि पनि उपयाेगी हुने संयाेजक मिश्नकाे भनाइ छ । साझाले जारी गरेको निर्देशिकमा अनुसार पार्टी केन्द्रीय समितिका कुनैपनि नेताहरू विदेशी दुतावासको औपचारिक कार्यक्रममा सहभागी हुन नपाउने उल्लेख छ।

सहभागी हुनै पर्ने भएमा पार्टीको विदेश विभागको अनुमति अनिवार्य रुपमा लिनुपर्ने, विभागले ताेकेका नेतालाइ पनि सहभागी गराउनुपर्ने, परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिने र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिका लागि अनुरोध गर्ने व्यवस्था गरिएको छ।

यसैगरी निर्देशिकामा पार्टीका नेताहरूले दुतावासका सदस्यहरूलाई आफ्नो निजी निवासमा बोलाएर भेटघाट गर्नपनि रोक लगाइएको छ, आफ्नो निवासमा भेट्नुपर्ने अवस्था आएमा पार्टी नेताहरूले विदेश विभागको स्वीकृति अनिवार्य रुपमा लिनुपर्नेछ।

पार्टीको केन्द्रीय समितिका नेताहरूलाई कुनैपनि गुप्तचर निकायका सदस्यहरूसँग भेट्न भने पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। साझामा पार्टीले विदेश विभागको जिम्मेवारी संयोजक रवीन्द्र मिश्रलाई दिएको छ।

Facebook Comments