नेकपा सांसदकाे सम्बाेधनपछि चिढियाे काँग्रेस, संसदमा नारबाजी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि असोज १ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
बाँकेका नेकपा सांसद नन्दलाल राेकायले बाँके घटनामा काँग्रेसले झुट बाेलेकाे र नेकपाका कार्यकर्ताकाे संलग्नता नरहेकाे जिकीर गरेपछि काँग्रेस सांसद चिढिएका हुन् ।
यसअघि बैठकको शुरुवातामा प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद पुष्पा भुषालले बाँके घटनाका दोषीलाई कार्वाही गर्न सरकार तयार भएकाले संसद सुचारु गर्न सहमत भएको बताउनुभएको थियो ।
सांसद भुषालले केही दिनअघि बाँकेमा कांग्रेस कार्यक्रम आक्रमण गरी जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही हुनुपर्ने बताउनुभएको थियो ।
भुषालपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रोकायले सम्बोधन गर्ने क्रममा बाँके घटनामा कांग्रेसले झुट प्रचार गरेको आरोप लगाउनुभयो ।
उहाँले घाइते कोइरालालाई प्रहरीले सोध्दा केही नभएको भनेकोमा पछि हात भाँचिएको भन्नु झुटा कुरा भएको जिकीर गरे लगत्तै काँग्रेस सांसदहरु आक्रोशित भइ आफ्नो स्थानबाट उठेका थिए ।
सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरु बसेनन् र बोल्नका लागि समय माग गरे । तर सभामुख कृष्णबहादुर महराले काँग्रेस सांसदले उठाएका मागबारे सरकारले जवाफ दिइसकेको भन्दै समय नदिएपछि काँग्रेस सांसदहरु नाराबाजीमा उत्रेका हुन् ।
लगातारको नाराबाजीपछि सभामुखले असोज १ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो ।
सम्बोधनका क्रममा बाँके क्षेत्र नंं. ३ का सांसद समेत रहेका रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै निर्दोषलाई फसाउन खोजेमा आन्दोलनमा जाने चेतावनी दिनुभएको थियो ।

