वाइडबडी विमान खरिद प्रकरणमा छानबिनका लागि सर्वदलीय संसदीय समिति गठनको माग
पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो ।
नयाँ शक्ति पार्टीका संयोजक समेत रहनुभएका भट्टराईले अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति बनाएमात्रै विमान खरिदमा भएको अनियमिता बाहिर आउने उल्लेख गर्नुभयो । बुधबार पार्टीले काठमाण्डौमा गरेको अन्तरक्रियामा भट्टराईले संसदीय समितिहरुले बनाएको उपसमितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन नसक्ने समेत बताउनुभयो ।
उपसमितिहरुले सीमित दायराभित्र रहेर मात्रै छानविन गर्ने भएकाले सर्वदलीय अधिकार सम्पन्न समिति बनाएर छानविन गर्नुपर्ने नेता भट्टराईको माग छ । नेता भट्टराईले सरकारले बनाएको न्यायिक आयोगले पनि सत्थतथ्य बाहिर ल्याउन नसक्ने दावी गर्नुभयो । संसदीय समितिहरुले उपसमिति गठन गरेर छानविन गरिरहेका बेला सरकारले न्यायिक आयोग बनाउनुको कुनै अर्थ नहुने उहाँको जिकिर थियो ।
ठूला राजनीतिक दलका ठूला नेताहरु नमिलेसम्म ठूलो भ्रष्टाचार हुन नसक्ने भन्दै नेता भट्राईले ठूला प्रधानमन्त्री र दलका नेता बसेर वाइड बडीमा भ्रष्टाचार भएको हुन सकने आशंका व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थविज्ञ अच्युत वाग्लेले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बनाएको प्रतिवेदनमा त्रुटी भएको जिकीर गर्नुभयो ।
उहाँले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको ठोकूवा गर्नुभयो । भ्रष्टलाई अख्तियारको जिम्मेबारी दिएका कारण काम देखाउन १५ सय घुस खाने कर्मचारीलाई कारबाही गर्दै बसेको बाग्लेको टिप्पणी थियो । बाइडबडी सम्बन्धमा कुनै निकाश ननिस्कने उहाँको जिकीर थियो । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भ्रष्टाचार लुकाउन ठूला प्रयास भइरहेको बताउनुभयो ।

