केसीको उपचार सुविधा सम्पन्न अस्पतालमा गर्न आवश्यकः चिकित्सक
अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या आएकाले उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । साथै उनीहरुले इलाममा राखेर उपचार गर्नु खतरापूर्ण हुने बताएका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको टोलीले डा.केसीको स्वास्थ्य अवस्था बुझेपछि यस्तो सुझाव दिएको हो । बुधबार अनसनस्थल पुगेर डाक्टर केसीको स्वास्थ्य जाँच गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रशान्त साह सहितका चिकित्सकहरूले सुविधा सम्पन्न स्थानमा उपचारका लागि सुझाव दिएका हुन् ।
९ दिनदेखि अनसनरत केसीलाई अचानक केही समस्या बढेमा इलाम अस्पतालमा उपचार सम्भव नहुने शाहको भनाई छ । चिकित्सकका अनुसार डा केसीको रगतमा चिनीको ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा पनि कम भएको र अक्सिजन पनि कम भएको छ । रगतमा चिनीको मात्रा कम भएपछि बेहोस हुने समस्या हुने गर्दछ ।

