बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना

बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध पुर्णिमाका अवसरमा शनिबार विशेष कार्यक्रम गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।

यसपटकको बुद्धपूर्णिमा मूल समारोह प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रुपमा व्यवस्थापन गरेका छन् । प्रधानमन्त्री ओलीले भिक्षुहरुलाई संघ दान दिने कार्यक्रम रहेको छ । लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नुभएको छ । प्रधानमन्त्रीले लुम्बिनी नयाँ ग्राममा आपको विरुवा रोप्नुभएको हो । लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैबी बनाउने कार्यक्रम अन्तर्गत बृक्षरोपण गरिएको हो ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको प्रदेश नम्बर ५ ले जनाएको छ ।

बुद्धपूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले मायादेवी छात्रवृत्ति वितरण गरिने छ । साथै प्रदेश सरकारले आज देखि शुरु हुने गरि २०७६ लाई लम्विनी भ्रमण वर्ष पनि घोषणा गरेको छ ।

Facebook Comments