फर्म कम्पनी दर्ता गर्न तगारै तगारा : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अझै पनि लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । लगानी गर्न कम्पनी फर्म दर्ता गर्न खोज्दा जतासुकै झन्झटिलो प्रक्रिया रहेको भन्दै त्यसलाई सहज बनाउनुपर्ने बताउनुभयो ।
घरेलु कार्यालय गयो त्यहाँ के के हो प्रक्रिया भन्छन्, कम्पनी रजिष्टारमा त्यस्तै राजस्व कार्यालयमा जता गएपनि झन्झट र प्रक्रियाका नाममा अल्झाउने काम भएको मुख्यमन्त्री गुरुङको भनाई थियो ।
नेपाल राष्ट्रबैक पोखराले पोखरामा शुक्रबार आयोजना गरेको समसामयिक आर्थिक तथा बैकिङ गतिविधिका बारेमा सरोकारवाला सगँको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले बैंकहरु केन्द्रीय सरकारको मात्रै हो भन्ने सोचाई नराख्न आग्रह गर्नुभयो ।
साथै उहाँले राष्ट्रबैक र बाणिज्य बैकहरुले प्रदेश सरकारलाई असहयोग गरे प्रदेश सरकारले आफ्नै बैक खोल्नुपर्ने अवस्था आउने बताउनुभएको छ । राष्ट्रबैंक र बाणिज्य बैंक केन्द्र सरकारको मात्रै नभई प्रदेश र स्थानीय सरकारको पनि भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यसो नभएमा प्रदेशले आफ्नै बैंक स्थापना गर्ने उहाँको भनाई थियो । बैंक तथा वित्तिय क्षेत्रले लगानीको वातावरण बनाउनमा भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाई छ । प्रदेशको सम्भावना पर्यटन, उर्जा, सिमेट उद्योग जलविद्युत र कृषी रहेको भन्दै त्यस क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री गुरुङको आग्रह थियो ।

