कम्युनिष्ट सरकारका कारण मुलुकमा संकट बढ्यो :काँग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका कारण मुलुकमा संकट बढ्दै गएको बताउनुभएको छ । स्याङ्जामा प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको श्रदाञ्जली सभामा उहाँले यस्तो बताउनुभएको हो ।

पुस १० गते निधन भएका अधिकारीको पुतलीबजारस्थित पार्टीको जिल्ला कार्यालयमा शुक्रबार आयोजित श्रदाञ्जली सभामा देउवाले मुलुक संकटको अवस्थामा रहेको भन्दै यसअघि जस्तै संकटबाट जोगाउन भूमिका खेल्ने बताउनुभयो ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादी बाटोमा हिडेको, प्रजातान्त्रिक मुल्य मान्यता विपरीत अगाडि बढिरहेको देउवाको आरोप थियो । काँग्रेसमा आन्तरिक एकता नभएकाले निर्वाचनमा कांग्रेस हार बेहोरेको उल्लेख गर्दै देउवाले पार्टी एकताबद्ध भई कम्युनिष्ट सरकार विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।
श्रदाञ्जली सभामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, धनराज गुरुङ, प्रदीप पौडेल, पूर्वमन्त्री यज्ञबहादुर अधिकारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, संविधानसभा सदस्य राजु थापा, प्रदेशसभा सदस्य बिन्दु थापा लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments