असुरक्षित भए सैनिक मुख्यालय जान प्रधानमन्त्रीलाइ गजुरेलको सुझाव
नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले असुरक्षा महशुस भए सैनिक मुख्यालमा गएर बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता गजुरेलले प्रधानमन्त्री ओलीले असुरक्षित महशुश गरेको भन्दै सैनिक मुख्यालमा बस्न सुझाव दिनुभएको हो ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डलाई थप सुरक्षाकर्मी राख्नु सुझाव दिदैं नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्नुभयो । दुवै नेतालाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्नु, गजुरेलले भन्नुभयोे, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे हुन्छ । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’
साथै गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ । नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताउनुभयो ।
भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा औंल्याउँदै गजुरेलले अहिलेको परिस्थिति आउनुमा वर्तमान सरकार जिम्मेवार रहेको उल्लेख गर्नुभयो । विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि गजुरेलको टिप्पणी थियो ।
विभिन्न ठाउँमा भएका बम काण्डमा संलग्नलाई अदालती कार्वाही गर्न सुझाव दिंदै गजुरेलले प्रतिबन्ध लगाएर समस्या समाधान नहुने बताउनुभयो ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिदा कि त राजनीति नै छाड्नुपर्यो नत्र भूमिगत हुनुपर्यो नभए बादलहरुले जस्तो आत्मसमर्पण गर्नुपर्यो गजुरेलेको भनाई थियो ।
अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ । नेता गजुरेलले ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको बताउनुभयो ।
पछिल्लो समय विषादी प्रकरणमा पनि सरकारले गम्भिर त्रुटि र जनताको स्वास्थ्यमाथि खेलबाड गरेको गजुरेलको आरोप छ । उहाँले भन्नुभयोे, ‘यो सरकारले विषादी चेकजाँचपछिमात्रै भारतबाट आउने तरकारी भित्र्याउने भनेर निर्णय गर्दा हामी पनि खुशी भएका थियौं । कहाँबाट सरकारलाई यस्तो बुद्धि आयो भनेको त त्यो कुरा १२ दिनपनि टिकेन् ।’
दुई तिहाई भएपनि यो सरकार यही पाराले अब नटिक्ने गजुरेलको चेतावनी थियो । नेपालमा वैदेशिक हस्तक्षेप बढिरहेको र अमेरिकासँग संयुक्त सैन्य अभ्यासले चीन चिढिएको गजुरेलको भनाई छ ।

