गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलित

पोखरामा रहेकाे गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु ३ बुँदे माग सहित पुनः आन्दोलनमा उत्रिएका छन् ।  

कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेज प्रशासनबाट पालना नभएकाे भन्दै साे कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

गण्डकी मेडिकल कलेजको पढाइ ६ दिनदेखि ठप्प रहेकाे छ । विद्यार्थीहरुले शिक्षामन्त्रीकाे राजीनामा समेत मागेका छन् ।

गतसालकाे माघ महिनामा समेत ताेकिएकाे भन्दा बढी शुल्क कलेजले लिने गरेकाे भन्दै अतिरिक्त शुल्क फिर्ताकाे माग सहित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए। 

विद्यार्थीले अगाडि सारेका ३ बुँदे माग

  • २०७५ चैत्र ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गरिएको निर्णय यथाशीघ्र कार्यान्वयन गरियोस् ।
  • विद्यार्थीले तिरेको सम्पूर्ण रकमको विल भौचर र रसिद उपलब्ध गराईयोस् ।
  • मेडिकल कलेजभित्र रहेका विभिन्न विकृति विसंगति अन्त्य गरियोस् ।

मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४२ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ। तर गण्डकी मेडिकल कलेजमा ताेकिएकाे भन्दा २० देखि २५ लाख रूपैयाँसम्म बढी लिने गरिएकाे विद्यार्थीकाे गुनासाे रहेकाे छ ।

शिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निजी मेडिकल कलेजहरूलाई सरकारले विद्यार्थीबाट तोकेभन्दा उठाएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएकाे थियाे । उक्त निर्देशन मेडिकल कलेजहरूले पालना गरेका छैनन् ।

मन्त्रालयले दिएको निर्देशनको पालना नभएपछि विभिन्न मेडिकल कलेजमा विद्यार्थी फेरी आन्दोलित भएका हुन्।  

चितवन मेडिकल कलेजका विद्यार्थी विगत १६ दिनदेखि आन्दोलित छन्। कलेजमा अध्ययन अध्यापन ठप्प छ । विद्यार्थीले कलेजकाे परिसर बाहिर दिनदिनै प्रर्दशन गर्ने गरेका छन् ।

Facebook Comments