नागरिकता विधेयकमा काँग्रेसकाे आपत्ति
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रस्तावित नागरिकता विधेयकमा आपत्ति जनाएकाे छ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका केही प्रावधानप्रति काँग्रेसले आपत्ति जनाएकाे हाे ।
काँग्रेस सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरूलाई कडा निर्देशन समेत दिनुभएकाे छ ।
तर संसदकाे बजेट अधिवेशन नै अन्त्य हुने भएपछि तत्काल नागरिकता सम्बन्धि विधेयक पारित हुने संभावना भने कम रहेकाे छ ।
पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएकाे हाे ।
यसअघि काँग्रेस तथा सत्तारूढ नेकपाका शीर्ष नेताहरूले नागरिकता सम्बन्धि विधेयकमा सहमति खाेज्ने बताएका थिए ।
बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति प्रकट गर्नुभएकाे छ ।
विधेयक बुधबार राष्ट्रियसभाबाट पारित भएकाे थियाे ।

