काठमाण्डौमा केसी पक्षधरको जुलुश प्रदर्शन
राजधानीको माइतीघर मण्डलामा अनसनरत डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाईमा प्रदर्शन गरिएको हो । डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने उद्देश्यले केसीका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सरकारले डा केसीको माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, अधिकारकर्मीका साथै केही राजनीतिकर्मी समेतले सहभागिता जनाएका थिए ।
आफूसँग विगतमा भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरिएको भन्दै डा.केसीले ११ दिन अघि अनसन शुरु गर्नुभएको हो । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो । केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनसनकै क्रममा उपचार भइरहेको छ ।

