शान्तिका लागि सञ्चार माध्यममा सकारात्मक विषय उठान गर्न आवश्यक
काठमाण्डौमा शान्ति र पत्रकारिता विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्नसञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले शान्तिपूर्ण समाज निर्माणका लागि सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्ने बताएका थिए ।
समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले पनि जिम्मेवार पत्रकारिताले मात्र शान्तिको वातावरण निर्माण हुने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले समाजमा तल्लो तहका नागरिकका आवाज र भावना सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरु पत्रकार शिव अधिकारी, दीपेन्द्र दोङ तामाङ, रेवती सापकोटा, लक्ष्मण पन्त, माधव पनेरु लगायतले सञ्चारमाध्यममा सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए । उनीहरुले लुकेका तथ्यहरुलाई सञ्चारमाध्यमहरुले बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।
यसैवीच विश्व शान्तिका लागि क्रियाशील कोरियाली संस्था हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एचडब्लुपिएल अन्तर्गत शान्ति पत्रकारिताका लागि मिडिया फोरम भ्वाइस अफ प्रेस नेपाल च्याप्टरको शुभारम्भ भएको छ । विश्वमा भैरहेका युद्धहरुको अन्त्य गरी शान्तिपूर्ण समाज र देशको स्थापना गर्ने अभियानका लागि अन्तराष्ट्रिय सञ्चार समन्वय गर्ने उदेश्यले मिडिया फोरम सञ्चालनमा ल्याएको हो ।
हालसम्म नेपालसहित २२ मुलुकहरुमा मिडिया फोरम स्थापना भैसकेको छ । एचडब्लुपिएलले युवा, महिला, राजनीतिक तथा धार्मिक नेताहरु र विभिन्न गैरसरकारी संस्थाहरुसँग शान्ति प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यसअघि संयुक्त राष्ट्र संघको सहकार्यमा शान्तिका लागि अन्तराष्ट्रिय अभियान सञ्चालन गर्दै एचडब्लुपिएलले युद्ध अन्त्य र शान्ति स्थापना सम्बन्धि घोषणापत्र जारी गरेको थियो भने हरेक बर्ष वृहद शान्ति महोत्सव समेत आयोजना गर्ने गरेको छ ।

