नाटकप्रति पोखरेली दर्शकको चासो बढ्दो

पोखरामा मञ्चन भइरहेको नाटक निरमाया एकै दिन तीन सो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीनवटा सो मञ्चन गर्नु परेको पोखरा थिएटरले जनाएको छ । शनिबार विहान १० बजे, दिउँसो १ बजेर र साँझ पौने पाँच बजे नाटक मञ्चन गरिएको थियो ।

शनिबार चलचित्र रणवीरको प्रमोसनका लागि पोखरा आएका निर्माता तथा कलाकार समेत पोखरा थिएटर पुगेका थिए । नाटक हेरेपछि प्रतिक्रिया दिदै चलचित्र रणवीरकी नायिका सुपुष्पा भट्टले नाटक राम्रो रहेको टिप्पणी गर्नुभयो ।

नाटक हेर्नका लागि भनेर पोखरा बाहिरबाट समेत दर्शकहरु आउन थालेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले जानकारी दिनुभयो । नाटक हेरिसकेका दर्शकको सन्तुष्टिको कारण भएको प्रचारप्रसारका कारण नयाँ पुस्तालाई समेत थिएटरले आर्कषण गरिरहेको कलाकार प्रकाश घिमिरे भनाई छ ।

पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् ।

गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । नाटकममा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई जोश्याउँदछ ।

नाटकका निर्देशक परिवर्तन कार्कीले यस अघि नाटक बितेका कुरा निर्देशन गरी नाटक निर्देशनमा डेब्यु गरेका थिए यो नाटकमा आफु खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन् ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदी कलाकारको अभिनय हेर्न पाइन्छ ।

पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको भने यो पाँचौ नाटक हो । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्ने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए । हालसम्म गन्र्धव नाटकघर सञ्चालन भएपछि यहाँ निरमाया सहित २३ वटा नाटक मञ्चन भए ।

Facebook Comments