स्थानीय तहकाे विज्ञापन राेक्न जरूरी छैनः सामान्य मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी छनौटका लागि जारी राखेको विज्ञापन रोक्न जरुरी नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले यस्तो बताउनुभएको हो । उहाँले विद्यमान कानुन अनुसार नै लाेकसेवाबाट विज्ञापन जारी गरिएकाे बताउनुभयाे ।
तत्कालिक स्थितिमा विज्ञापन समावेशी भएको पनि मन्त्री पण्डितको जिकीर रहेको छ । मुलुक संघीयताको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै प्रदेश र स्थानीय तहले पनि नीति निर्माण र कार्यान्वयन गर्ने अधिकार रहेको बताउनुभएको छ ।
स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि नमुना आचारसंहिता र कानुन, निर्देशिका, मापदण्ड तयार पारेर सहजीकरण गरेको मन्त्री पण्डितको भनाई रहेको छ ।
भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नका लागि मन्त्रालयले प्रयासरत गरिरहेको र अनियमितता गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने बताउनुभयो ।

