चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा आउने पक्का भएकाे बताउनुभएकाे छ ।
यद्यपि दुवै देशका तर्फबाट राष्ट्रपति सीकाे नेपाल भ्रमणबारे अपाैचारिक रूपमा केही सार्वजनिक भएकाे छैन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण निश्चित भएकाे जानकारी गराउनुभएकाे हाे ।
श्राेतका अनुसार राष्ट्रपति सी जिनपिङ अक्टाेबर ११ मा भारत जाने र १४ गते नेपाल आउने तयारी भइरहेकाे छ । राष्ट्रपति सी भारत-चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने कार्यक्रम रहेकाे छ ।
राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ भने सुरक्षा व्यवस्था बुझ्न चिनियाँ टाेली नेपालमै रहेकाे छ ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण समेत राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएकाे ठानिएकाे छ ।
नेपाल सरकारले चिनियाँ विदेशमन्त्रीसँग भएकाे छलफल केरूङ काठमाण्डाै रेलमार्ग निर्माणका लागि सम्झाैता गर्ने तयारी गरेकाे छ ।

