अबको जीवन देशसेवामा: उम्मेदवार विद्या भट्टराई

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् ।

बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ ।

नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् ।

कांग्रेस नेताहरु प्रकाश श्रेष्ठ, कृष्ण भुसाल, जीतबहादुर थापा, उमेश बराल लगायतलाई नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम र नेकपा उम्मेदवार भट्टराईले पार्टीमा स्वागत गरे । मंगलबार नेपाली कांग्रेस पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति नगेन्द्र शर्मा भण्डारीसहित ४० जना नेकपा प्रवेश गरेका थिए ।

उम्मेदवार भट्टराईले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथि बन्ने प्रतिज्ञा गर्नुभएको छ ।

उहाँले भरतपोखरीमा भएको कोणसभामा विकास र समृद्धिको काममा आफू लागिपर्ने बताउनुभयो । देशको विकास र समद्धिको महाअभियान शुरु भएको भन्दै उम्मेदवार भट्टराईले अवको जीवन जनताकै सेवामा समर्पित हुने बताउनुभयो ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको उल्लेख गर्नुभयो ।

रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने उहाँको प्रतिबद्धता थियो ।

यसैवीच नेकपा कास्कीका इञ्चार्ज एवं चुनावी कमाण्डर राजकाजी गुरुङले सरकारले देशको विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभएको छ ।

पोखरा १६ मा गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, निर्वाचन परिचालन कमिटी संयोजक निर्मल आचार्य लगायतको टोलीसँगै घरदैलोको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

बुधबार पोखरा १६ का बाटुलेचौर, लामाचौर, अर्मला, जोगीमणी लगायतका विभिन्न क्षेत्रका घरदैलो गरेको नेकपाले जनाएको छ ।

त्यस्तै नेकपाका नेता कार्यकर्ता पोखरा ११ मा बिहान सबेरैदेखि साँझसम्म चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

Facebook Comments