मौजाका विद्यार्थीलाई शैक्षिक सामाग्री र सेनिटरी प्याड वितरण
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग गरेको छ । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ ।
क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लाग्दैछ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाईमा ध्यान दिइएको बताउनुभयो । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उहाँले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

