सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा: कोइराला
नेपाली कांग्रेसका नेताहरुले सरकारका कारण संविधान र लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।
कास्की २ मा हुन लागेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार खेमराज पौडेलको चुनवाी प्रचार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताउनुभयो ।
उहाँले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता विरोधी भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो चुनाव जित्न आवश्यक रहेको जिकीर गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गर्नुभयो । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै सांसद समेत रहनुभएका थापाले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताउनुभयो ।

‘खमेराज गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’
यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले दिने सन्देश महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कांग्रेसको तेस्रो चरणका कार्यक्रम शुरु
नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभिाजन गरी चुनावी प्रचार गरेको थियो ।
जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७÷७ दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो ।
तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
केसीले चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताउनुभयो ।
‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भन्नुभयो, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।’

