उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जित्नुपर्ने बताउनुभएको छ ।
साथै उहाँले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताउनुभयो ।
पोखरामा उपनिर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतिपक्षी दलका नेता समेत रहनुभएका देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई गलत बाटोमा रहेकाले अव सच्चिनुपर्छ भन्ने सन्देश दिन पनि काँग्रेसले उपनिवार्चन जित्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाउनुभयो ।
सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
केपी ओलीको खोक्रा आश्वासन अब जनताले नपत्याउने भन्दै सभापति देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो ।
‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं, सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र खान खोल्न खोज्यौं तर सरकार मौन छ, कानमा तेल हालेर अझै बसिरहेको छ’, देउवाले भन्नुभयो ।
उहाँले सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ ।
सभापति देउवाले तपस्वी नेता खेमराज पौडेलमाथि यसअघि अवसर दिन नसकेको भन्दै अव भने जनताले न्याय गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गर्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टीले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको बताउनुभयो । ।
महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाउनुभयो ।
‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उहाँले, ‘सरकार सच्चिनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ ।’
राज्यकाेषमा ब्रम्हलुट
केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाउनुभयो ।
‘सुशासन, समृद्धि, शान्ति र सुखको ठूला ठूला भाषण गर्ने कम्युनिष्ट कस्ता रहेछन् भन्ने यो २ वर्षमै देखिएको छ’, उहाँले भन्नुभयोे, ‘कम्युनिष्ट देश र जनताको हितमा कहिल्यै हुन सक्दैनन् ।’
युवा नेता गगनकुमार थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताउनुभयो ।
हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन हुँदैन भनेर रवीन्द्र राजा विरुद्ध लागेका स्मरण गर्दै नेता थापाले अहिले रवीन्द्रको उत्तराधिकारी हुँ, सपना पूरा गर्छु भन्दै हिंड्न नैतिक हैसियत नहुने बताउनुभयो ।
नेता थापाले नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा कस्केली जनताले त्यो पूरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले यो चुनाव सिंगो देशको भविष्यसंग जोडिएकाले यो चुनावमा कांग्रेसलाई जिताएर देशको गति र मति फेर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
उम्मेदवार खेमराज पौडेलले आफू सधैं कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो ।
आफूले जितेर गए पनि सधैं जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको उम्मेदवार पौडेलको भनाई थियो ।

