विश्व क्षयरोग दिवस, जनचेतना बढाउन आवश्यक : उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव
आज विश्व क्षयरोग (टिबी) दिवस मनाइदैछ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्दै यस वर्ष विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप अंग्रेजीमा ट्यूब्रक्लोसीस हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करिब ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित छन् भने हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मर्ने गरेका छन् ।
नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट्स सेवा केन्द्रहरु छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गरेको छ भने सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।
३ हप्ता या त्योभन्दा बढि समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन चिकित्सकहरुको सुझाव छ ।
यसैवीच स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगीको संख्या किन बढ्यो भन्ने विषयमा समीक्षा जरुरी रहेको बताउनुभएको छ । सरकारले क्षयरोग नियन्त्रणका लागि ठूलो धनराशी खर्च गरेपनि वार्षिक रूपमा रोगीको संख्या बढ्दै गएको सन्दर्भमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको उहाँको भनाई रहेको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरको मध्यपुर ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री यादवले अब क्षयरोगबाट कसैको मृत्यु हुन नदिन सबैको पहल आवश्यक रहेको र सरकारले पनि सहयोग गर्ने उहाँको भनाई रहेको छ ।
दूर दराजका गाउँहरूमा रोग लागेको थाहा नहुने, भइहाले पनि ढिलो उपचार गर्न आउने र कतिपय त उपचारका लागि नै नआउने कारण क्षयरोगका रोगी बढिरहेको मन्त्री यादवको भनाई थियो । उहाँले केन्द्रमा मात्र नभई अब प्रदेश प्रदेशमा एडभान्स ट्रिटमेन्ट सेन्टर रिसर्च सेन्टर बनाउनुपर्नेमा जोड दिनुभयो ।

