कम्युनिष्ट आन्दोलनमा विकृति भित्रियाेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालकाे कम्युनिष्ट आन्दोलनमा विकृति भित्रिएकाे स्वीकार गर्नुभएकाे छ ।

उहाँले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य अवसरवादका कुनै पनि गन्ध नभएको नेताको रुपमा आफूलाई स्थापित गरेको पनि बताउनुभयाे ।

नेकपाका संस्थापकमध्येका एक नेता नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभयाे ।

‘नरबहादुर कर्माचार्य जीवनभर आफूलाई कम्युनिस्ट आन्दोलनकोनिम्ति समर्पित गर्नुभयो, माक्र्सवादी सिद्धान्तमा उभ्याइराख्नुभयो । कुनै खाले बिचलनतिर सोच्नुभएन । बैचारिक र आन्दोलनप्रतिको निष्ठा र निरन्तरता कर्माचार्यको बिशेषता हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डका अनुसार कर्माचार्यले जीवनभर अवसरवादलाई परास्त गर्नुभयो । उहाँले नरबहादुर कर्माचार्य अवसरवादको कुनै गन्ध नभएको नेता रहेकाे बताउनुभयाे ।

अहिले कम्युनिष्ट आन्दोलनभित्रै धेरै खालका बिसंगतिहरु, बिकृतिहरु देख्न सकिन्छ तर संस्थापक नेता कर्माचार्य ती सबै विसंगतिबाट टाढा रहनुभएकाे अध्यक्ष प्रचण्डकाे भनाइ थियाे ।

‘पार्टी एकतालाई अझ सुदृढ गर्नु हो कर्माचार्यलाई सम्झनु भनेको । जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउन जरुरुी छ,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले झण्डै ७ बर्ष नरबहादुर कर्माचार्यकै अभिभावकत्वमा बसेको खुलासासमेत गर्नुभयो ।

‘जनयुद्धको सम्पुर्ण तयारी नरबहादुर कर्माचार्यकै घरबाट गरेको हो, अव यो युद्धमा हाम फाल्यो भन्ने जानकारी र मारिन्छन कि भन्ने चिन्ता पनि उहाँले गर्नुभएको थियो,’ प्रचण्डले भन्नुभयो ।

Facebook Comments