सञ्चय कोषबाट अनलाइन भुक्तानी, संचयकर्ताले अब बैंक धाउनु नपर्ने
कर्मचारी सञ्चय कोषले कर्जा प्रवाहमा अनलाइन प्रणाली ल्याएको छ । कोषले बुधबारदेखि लागू हुने गरी सञ्चय कर्ताहरुलाई सहज कर्जा प्रवाहमा सहयोग पुग्ने गरी अनलाइन सिष्टम ‘इनभेष्टमेन्ट लोन म्यानेजमेन्ट सिष्टम’(ईएलएमसी) ल्याएको हो ।
अनलाइन ट्रान्जेक्सन ईएलएमसी कार्यान्वयनमा आएसँगै अब संचयकर्ताहरुले कर्जा माग गर्दा बैंक सम्म धाउन नपर्ने भएको छ ।
आफ्नै मोबाइलबाट अनलाइन मार्फत कोषसँग कर्जा माग गर्न सकिने र माग गरेको कर्जा सिधै आफ्नो एकाउण्टमा टान्सफर हुने भएको छ ।
यसबाट कर्जा मागमा लाग्ने शुल्क समेत घटेको छ । यस अघि कर्जा मागमा लाग्दै आएको ३० रुपैयाँ शुल्क अब अनलाइन प्रणाली आएपछि १० रुपैयाँ मात्र तिरे हुने भएको छ ।
अनलाइन ट्रान्जेक्सनको उद्घाटन गर्दै कोषले पहिलो पटक नेपाली सेनाका कर्मचारीलाई अनलाइन मार्फत कर्जा भूक्तानी गरेको छ ।
कोषले नेपाली सेनाका जवान सुरेश कुमार यादवलाई घर कर्जा वापत १६ लाख रुपैयाँ अनलाइबाटै भूक्तानी दिएको हो ।
कर्जा भूक्तानीबाट अनलाइन प्रणालीको सुरुवात गरेको र अब कोषको सबै खाले आर्थिक कारोबार तथा भूक्तानीमा अनलाइनमा लगिने कोषका प्रवन्ध निर्देशक तुलशी प्रसाद गौतमले जानकारी दिनुभयाे ।
कोषले यसअघि संचयकर्तालाई चेकमार्फत कर्जा भूक्तानी दिँदैआएकोमा अब सिधै बैंक एकाउण्टमा रकम ट्रान्सफर गर्ने छ । कर्जाका लागि कोषको आधिकारी वेभसाइटमा गएर फर्म भर्न सकिन्छ ।

