घाँसबाटै लाखौं आम्दानी
स्वास्थ्य मन्त्रालयको लजिस्टिक शाखामा आफ्नो जागिरे जीवन विताईरहँदा गोपाल दुलाललाई प्रौढ उमेरमा कृषि कर्ममा रम्ने कल्पनासम्म पनि थिएन ।
सरकारी जागिरबाट २०५१ सालमा अवकाश लिएर केही बर्ष गैरसरकारी संस्थामा काम गरेपछि दुलाललाई कृषिमा केही गरौं भन्ने इच्छा लाग्यो ।
समय के गरेर कटाउने भन्ने भइरहँदा पशुपालन गर्ने सोच आयो । ततपश्चात काठमाण्डौमा स्थायी बसोबास रहेपनि कृषि कर्मकै लागि दुलाल नवलपरासी झर्नुभयो ।
शुरुमा ३० वटा गाई पालेर दुध विक्री गर्ने कार्य प्रारम्भ गर्नुभयो । ४ बर्षको प्रयासमा खासै आम्दानी गर्न सक्नुभएन । खर्च र आम्दानी बराबरै जस्तो भयो ।

ततपश्चात उहाँले गाईपालन चटक्कै छाडेर घाँसखेतीतर्फ लाग्नुभयो । घाँसखेती शुरु गरेपछि भने उहाँले राम्रै आम्दानी गरिरहनुभएको छ ।
सामान्यतः घाँस बेचेर पनि के होला र भन्ने खालको सोचाई नेपाली समाजमा पाइन्छ । तर दुलालले भने घाँस बेचेर नै बार्षिक १० देखि १२ लाख कमाउने अवस्थामा पुग्नुभएको छ ।
हुन त घाँसको अनुसन्धान र विकासका लागि उहाँले विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोग लिनुभएको छ । ५ बर्षको लगातारको मेहनतपछि उहाँले अहिले विभिन्न ५० भन्दा बढी जातका घाँस लगाउनुभएको छ ।
करिव ९ विगाह क्षेत्रफलमा घाँस खेती गर्नुभएका दुलालको गोरस घाँस विकास स्रोत केन्द्रमा चीन लगायतका विभिन्न मुलुकबाट अनुसन्धान कार्यका लागि समेत विज्ञहरु आउने गरेका छन् ।
दुलालका अनुसार अहिले सुपर नेपिएर जातको घाँस पशुपालक कृषकमाझ लोकप्रिय बनिरहेको छ । छिटो बढ्ने र पशु आहराका लागि आवश्यक अधिकांश खाद्यतत्व पाइने भएकाले सुपर नेपिएर कृषकको रोजाईमा परेको हो ।
हरियो घाँस प्रति क्वीन्टल सात सय रुपैयाँमा विक्री हुने गरेको छ । केही पशुपालक कृषकहरुले बार्षिक रुपमा नै लैजाने गरी घाँस खरिद गर्ने गरेका छन् । दुलालका अनुसार परालभन्दा हरियो घाँस सस्तो छ र पशु आहराका लागि उपयुक्त पनि ।

केही समयपहिला भारतबाट आएका विज्ञहरुले दिएको सुझाव अनुसार नेपालमा पशु आहरामा सुधार गर्ने हो भने अहिलेको पशुजन्य उत्पादनमा ३० प्रतिशत सजिलै बृद्धि हुनेछ ।
पशुलाई आहाराका रुपमा दाना खुवाउनु गलत हुने उहाँको धारणा छ । यसले गर्दा एक पशुलाई आवश्यक आहरा पनि अपुग हुने र अर्को मानवलाई समेत खाद्य संकट हुने उहाँको तर्क रहेको छ ।
उहाँले अन्नबाली राम्रो हुने जग्गामा नै घाँस लगाउनुभएको छ । उहाँका अनुसार अन्य व्यवसायको तुलनामा घाँसखेती केही सजिलो रहेको छ । जग्गा भाडामात्रै झण्डै ४ लाख बार्षिक रुपमा तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
काम गर्ने नियमित र ज्यालादारीमा गरेर ७ जना रहेका छन् । हाल ९ विगाह क्षेत्रफलमा रहेको घाँस खेतीलाई थप १२ विगाहमा विस्तार गर्ने योजनामा दुलाल लागिपर्नुभएको छ ।
पशुपालन गर्न चाहने जोकोहीले पनि शुरुमा घाँसको व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव रहेको छ । घाँसका वीउवीजनलाई ब्राण्डेड गर्ने तयारीमा लागिरहेको दुलालले जानकारी दिनुभयो ।
घाँसबाटै मनग्य आम्दानी गर्नेमा दुलाल मात्र नभई सोही स्थानमा अन्य कृषकहरु समेत रहेका छन् । उनीहरुले घाँसको वीउ बेच्ने तथा उत्पादित घाँस नै विक्री गर्ने गरेका छन् ।
कुनै पनि पेशा व्यवसायमा सफल हुनका लागि प्रतिबद्धता र निरन्तरता आवश्यक पर्ने दुलालको बर्षौदेखिको लगनशीलताले पुष्टी गर्दछ ।
राज शर्मा/उत्तम पण्डित नवलपरासी

