काँग्रेसको नाराबाजीकै वीच संसदबाट चिकित्सा शिक्षा विधेयक पास
प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोध र नाराबाजीकै बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको हो ।
कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा जानका लागि सहयोग गरेका थिए । रोष्टममा पुगेपछि विपक्षी सांसदहरुको नाराबाजीकै वीच मन्त्री पोखरलेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
विपक्षीले बेल घेराउ गरेकाले सत्तारुढ दलका सांसद रोष्टममा जान सक्ने अवस्था नभएकाले छलफल भने हुन सकेन । तत्पश्चात मन्त्री पोखरेल रोष्टममै बसिरहेका बेला शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भनी पास गरियो ।
सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव मन्त्री पोखरेलले पेश गर्नुभयो । काँग्रेस सांसदको निरन्तरको नाराबाजीपछि संसदको बहुमतले चिकित्सा शिक्षा विधेयक पास गर्यो । सत्तारुढ दलले आफ्नो अवरोधकैवीच चिकितसा शिक्षा विधेयक पारित गरेपछि प्रमुख विपक्षी कांग्रेस आक्रमक बनेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध संसद र सडकमा पनि आन्दोलन अगाडि बढाउने घोषणा गर्नुभएको छ । साथै उहाँले सरकार अधिनायकवादी भएको बताउनुभयो साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आरोप काँग्रेसले लगाएको छ ।


