भारतको ७० औं गणतन्त्र दिवस, नेपालका तर्फबाट शुभकामना व्यक्त
छिमेकी मुलुक भारतले ७० औं गणतन्त्र दिवस मनाइँदैछ । हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।
वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनका अवसरमा भारत र कुटनीतिक सम्बन्ध स्थापित भएका मुलुकमा रहेका दुताबासमा समेत यो दिवस मनाउने गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । भारतले नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
नेपालका तर्फबाट शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्माओली समेतले आ–आफ्ना भारतीय समकक्षीलाई सन्देश पठाई शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले समकक्षी एम भिनकाइ नाइडुलाई र प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भारतका जनताको निरन्तर प्रगतिको कामना गरिएको छ ।

