बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : सांसद अधिकारी(भिडियाे)
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सांसद खगराज अधिकारीले पोखरामा रहेको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग जथाभावी शुल्क लिएको भन्दै छानविन गरी कार्वाही गर्नुपर्ने बताउनुभएको छ । साे कलेजले ४२ लाखभन्दा शुल्क लिन नपाउनेमा ५२ लाख रुपैयाँ लिएको प्रमाणित भएको उहाँको भनाई थियो । जनतालाई गुणस्तरीय शिक्षा दिनुपर्ने उहाँको भनाई थियो । साथै उहाँले प्रतिनिधिसभामा स्वास्थ्य बीमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको छ ।
सबै जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य बीमामार्फत् स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै सांसद अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने धारणा राख्नुभयो । अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद अञ्जना विशंखेले स्वास्थ्य मन्त्रालयबाट तिव्र गतिमा अस्पताल खोल्ने कार्य भइरहेको तर जनशक्तिमा ध्यान नदिइएको पाइएको बताउनुभयो ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । काँग्रेस सांसद पुष्पा भुसालले स्वास्थ्य बीमामा सहभागी भएकाहरुले निरन्तर नवीकरण गर्ने र बीमाको प्रिमियम तिर्न नसक्ने भन्दै विपन्नलाई सहुलियत दिनुपर्ने धारणा राख्नुभयो ।
संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदैं स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताउनुभयोे । २०२० सम्म ५० प्रतिशतको बीमा गर्ने र ३० सम्म सबैको पहुँचमा बीमा र्पुयाउने उहाँको दावी छ ।

