प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट बाहिर निकालियाे

प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे चिकित्सकहरूले बताएका छन् ।

महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको थियाे ।

एपेन्डिसाइटिसकाे अपरेशन गरेपनि पेटमा संक्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकाे हाे ।

पेट दुखेर अस्पताल पुगेपछि चेकजाँच गर्दा एपेन्डिक्स भएकाे पत्ता लागेकाे थियाे । लगत्तै प्रधानमन्त्री ओलीकाे शल्यक्रिया गरिएकाे थियाे ।

डाक्टर रमेशसिंह भण्डारीको टाेलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्।

शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण (पेरिटोनिटिस) भएको चिकित्सकहरूले जनाएका छन् ।

अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर देखिएको छ।

बुधबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार आए रगतमा संक्रमणको डर कम हुने उनले बताए।

प्रधानमन्त्री ओलीको बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकाे थियाे ।

अहिले प्रधानमन्त्रीकाे फेरिएकाे मिर्गाैलाले काम गर्न छाडेपछि नियमित हेमाेडायलाइसिस गर्नुपरेकाे छ ।

प्रधानमन्त्रीकाे नियमित डायलाइसिस वा पुनः मिर्गाैला प्रत्याराेपण गर्नुपर्ने चिकित्सकहरूकाे राय रहेकाे छ ।

Facebook Comments