निजी मेडिकल कलेजले विद्यार्थीसँग उठाएकाे बढी शुल्क फिर्ता गर्ने

निजी मेडिकल कलेजले विद्यार्थीसँग उठाएकाे ताेकेभन्दा बढी शुल्क फिर्ता गर्ने भएका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकहरूवीच भएकाे वार्तामा एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्ने सहमति भएकाे हाे ।

शिक्षा मन्त्रालयमा मंगलबार सम्पन्न वार्तामा निजी मेडिकल कलेज सञ्चालकहरूले बढी लिइएकाे शुल्क फिर्ता या समायाेजनका लागि सहमति जनाएका छन् ।

मेडिकल कलेजका सञ्चालकहरूले एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसका साथै निजी मेडिकल कलेजहरूले निर्धारित शुल्कभन्दा बढी रकम बुधबारदेखि नै फिर्ता वा समायोजन गर्न शुरू गर्ने बताएका छन् ।

यसअघि पनि मेडिकल कलेजका संचालकहरूले पटक पटक शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, शैक्षिक सत्र २०७६/७७ का हकमा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुरू गरिनेछ।

२०७७/७८ र त्यसपछिका लागि भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट प्रक्रिया अघि बढाउने निर्णयमा उल्लेख छ।

गैरकानुनी शुल्क फिर्ता नगरे बुधबारबाट ठगी मुद्दामा कार्वाही गर्ने सरकारकाे तयारीपछि मेडिकल कलेजका संचालकहरू पछि हट्दै शुल्क फिर्ता या समायाेजनका लागि तयार भएका हुन् ।

Facebook Comments