पद सम्हालेकाे ४ दिनमै भारत महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसकाे राजीनामा
पद सम्हालेकाे चाैंथाे दिनमा भारतकाे महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडनाविसले पदबाट राजीनामा दिनुभएकाे छ ।
गत शुक्रबारमात्रै मुख्यमन्त्रीको सपथ लिनुभएका फडनाविसले मंगलबार पदबाट राजीनामा दिनुभएकाे हाे ।
बहुमत पुर्याउन नसक्ने देखेपछि फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिनुभएकाे हाे ।
फडनाविसलाई समर्थन गरेकाे भनिएकाे दल एनसिपीले भाजपासँग सरकार बनाउने निर्णय अजित पवारको व्यक्तिगत भएको भन्दै अजितलाई संसदीय दलको नेताबाट निष्कासन गरेकाे थियाे ।
भारतको सर्वोच्च अदालतले बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो।
राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिन सहमति नजनाएकाे उल्लेख गर्नुभयाे ।
अक्टोबर २१ मा २८८ सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले १०५ सिट ल्याएको थियो। शिव सेनालाई मुख्यमन्त्री दिने वाचा गरेर गठबन्धन गरेको भाजपा चुनाव पछि भने मुख्यमन्त्री आफ्नै पार्टीको हुने बताएको शिवसेनाकाे दावी छ ।
भाजपाले सरकार बनाउन नसक्ने भएपछि हतारमा राष्ट्रपति शासन लागू भएकाे थियाे ।
पछि ५६ सिट भएको शिव सेना,५४ सिट भएको राष्ट्रवादी कांग्रेस(एनसिपी) र ४४ सिट जितेको कंग्रेसले शुक्रबार साँझ सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पनि साेकाे कार्यान्वयन हुन पाएन ।
रातारात भाजपाले एनसिपीका संसदीय दलका नेता अजित पवारलाई हात लिएर सरकार बनाएको थियो।
आइतबार बिहान राष्ट्रपति शासन फिर्ता गर्न सिफारिस गरी एकाबिहानै फडनाविसलाई मुख्यमन्त्री र पवारलाई उपमुख्यमन्त्रीको शपथ गराउनुभएकाे थियाे ।
लगत्तै विधानसभामा आफ्नो स्पष्ट बहुमत भएको भन्दै सेना, एनसिपी र कंग्रेसले तुरून्तै फडनाविसलाई बहुमत सावित गर्न आदेश मागेर सर्वोच्च गएका थिए।
फडनाविसले राजीनामा दिएपछि महाराष्ट्रमा अव कसकाे नेतृत्वमा सरकार बन्छ भन्ने काैतुहलता बढेकाे छ ।

