आफूले टेकेको धर्ती कमजोर पार्ने काम नगरौं : नेकपा सचेतक गुरुङ

नेकपाका प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताउनुभएको छ ।

उहाँले प्रतिपक्षी नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

संविधानमा त्रुटि भए पनि त्यसलाई परिमार्जन गर्न सकिने विचार राख्दै गुरुङले देशको स्वाधीनतामाथि खेलवाड नगर्न चेतावनी दिनुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई कमजोर बनाएका उदाहरण पेश गर्दै उहाँले पटक पटक साम्राज्यवादी, सामन्तसँग घुँडा टेक्नेहरु लोकतन्त्रको पहरेदार हुनै नसक्ने तर्क गर्नुभयो ।

नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले प्रतिपक्षकै शैली बदल्न उपचुनावले शिक्षा दिने बताउनुभयो । उहाँले कांग्रेसको सरकार भएका बेला कालापानीको प्रस्ताव संसदमा आउँदा कांग्रेसका सचेतकले विरोध गरेको र तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसलाई रोकेको जिकीर गर्नुभयो ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट भएपछि आमसभालाई विरोधसभाको रुप दिनुपरेको बताउनुभयो ।

नेकपाको चुनावीसभा
नेकपाले चुनावी अभियान अन्तर्गत कास्की २ का ११ वटै वडामा थालेको घरदैलो मंगलबार सकिएको जनाएको छ ।

पोखरा ४ मा मंगलबार भएको घरदैलोमा रामबहादुर कोइराला, रामजी गौतम, विष्णुहरि पौडेल र नर्वदा अधिकारी नेतृत्वका टोलीले वडाका विभिन्न क्षेत्रमा पुगी मत मागेको छ ।

पोखरा ९ का टोलहरुमा गठन गरिएका निर्वाचन परिचालन कमिटीको बैठक भएको छ । पोखरा १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा भएका छन ।

चुनावी कमान्डर बखान सिंह तमुले एजेन्डा र आवश्यकतालाई मूल्यांकन गरी फेरि पनि जनताले नेकपालाई अत्यधिक मत दिने बताउनुभयो ।

पोखराका सबै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको र बुधबार नेकपाको मुख्य चुनावी सभा पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा हुने जनाएको छ ।

नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले निर्वाचन हुने पोखरा महानगरका ११ वटै वडाका बासिन्दा बाजागाजा सहित ¥याली र सभामा सहभागी हुने बताउनुभयो ।

Facebook Comments