नेपालमा एसियाली बाख्रा विज्ञ सम्मेलन हुने
नेपालमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरमा बाख्रा विज्ञ सम्मेलन हुन लागेको हो ।
विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म सम्मेलन हुने जानकारी शुक्रबार पत्रकार सम्मेलन गरी दिइएको हो ।
विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने संकाय डिन प्रा.डा. शारदा थपलियाले जानकारी दिनुभयो ।
सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान र्पुयाउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरीका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी हुनेछन् ।
चारदिनसम्म चल्ने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुने जनाइएको छ ।
सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल हुने बताइएको छ ।

