विजयपुरमा बेलीब्रिज तयार, ३५ टनभन्दा बढी लोडका गाडीलाइ डाइभर्सनकै भर
पक्की पुल चर्किएर हेभी लोड गाडी गुडाउन नमिल्ने भएपछि त्यसको विकल्पमा पोखराको विजयपुरमा बनाइएको नयाँ बेलीब्रिजबाट पनि हेभी लोड गाडी भने गुड्न नपाउने भएका छन् ।

जसका कारण गण्डकी प्रदेशको राजधानी पोखरा र धवलागिरी, स्याङ्जा आउने हेभी लाेड मालबाहक गाडी आवत जावतमा कठिनाई हुने भएको छ ।
यसैवीच विमानस्थल निर्माणमा रहेको चिनिया कम्पनीले आफ्ना सामान ढुवानी गर्ने प्रयोजनका लागि विजयपुर खोलामा पुनः डाइभर्सन पुल बनाएको छ ।
३५ टनभन्दा माथिका गाडी बेलीब्रिजबाट आवात जावात गर्न नमिल्ने भएपछि चिनीयाँ कम्पनीले डाइभर्सन बनाएको हो ।
यसअघि पनि चिनीया कम्पनी सिएमसीले नै ३ पटकसम्म सडक डिभिजन कार्यालय कास्कीसँगको सहकार्यमा डाइभर्सन बनाएको थियो ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सामाग्री ओसार पोसार गर्ने प्रयोजनमा नयाँ निर्माण गरिएको बेलीब्रिज पनि अर्थहीन हुने भएको छ ।
बेलीब्रिजबाट ३५ टनभन्दा बढी भारवहन क्षमताका मालबाहक सवारी साधन संचालनमा रोक लगाइएकोले डाइभर्सन तयार गरिएको कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
चापागाईंका अनुसार विमानस्थलको निर्माण सामग्री बोक्ने सवारी साधन ५० टनभन्दा बढी भारयुक्त हुन्छन ।

