धेरै नागरिकको सहभागितामा समाजवादी क्रान्तिः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले समाजवादी आन्दोलन धेरै नागरिकको सहभागितामा सम्भव हुने बताउनुभएको छ ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले समाजवादी क्रान्ति धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको उल्लेख गर्नुभयो । अध्यक्ष अवर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताउनुभयो ।
उहाँले यो व्यवस्था उल्टिएमा नेपाल नै बर्वाद हुने बताउनुभयो । जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने प्रचण्डको भनाई छ ।
हेगको डर छैन
अहिले १३ हजार मान्छे मारेको भन्दै आफु लगायतका नेतालाई अन्तराष्ट्रिय अदालत लैजाने भन्ने हल्ला चलेको भन्दै आफूलाई कुनै डर नरहेको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ’मलाई हेग लगे म विश्वको हिरो हुन्छ, यो त शान्तिका लागी लड्ने मान्छै रैछ, शान्तिको पक्षधर रैछ भनेर मलाई विश्वले चिन्नेछन् तर मलाई लाग्दैन कि यिनिहरुलै मलाई हेगमा लान्छन् र विश्वको हिरो बन्ने मौका दिन्छन् । ’
सोमबार खुमलटारमा प्रचण्डले विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश तथा समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्न कार्यक्रम भएको थियो ।

