कास्कीमा २ बजेसम्ममा ५५ प्रतिशत मतदान

कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा २ बजेसम्मकाे अवधिमा ५५ प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभएकाे छ ।

सुवेदीका अनुसार ७० प्रतिशत मत खस्ने अनुमान गरिएकाे छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान एकाध स्थानबाहेकमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन आयोगले जानकारी दिएकाे छ ।

पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान भने सूचारू रहेकाे छ ।

प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिएकाे छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । खुला स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट भने जोगिएको छ ।

कास्कीमा नेकपाबाट निर्वाचित रवीन्द्र अधिकारीकाे हेलिकाेप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्न लागिएकाे हाे ।

Facebook Comments