पर्यटन मन्त्रालयमा आइस्योस् गइस्योस् चल्दैनः मन्त्री भट्टराई

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूलाई बधाई विज्ञापनका रुपमा नदिन आग्रह गर्नुभएको छ । मन्त्री भएकोमा पत्रिकामा विज्ञापन मार्फत् बधाई दिने प्रचलन रहेको भन्दै आफूलाई त्यो राम्रो नलाग्ने मन्त्री भट्टराईको भनाई छ ।

बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भन्नुभयो, ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला ।’

साथै सिंहदरबारभित्र आइस्योस् गईस्योस् भन्ने भाषा रहेको भन्दै आफू मातहतको मन्त्रालयमा कसैले पनि त्यस्तो भाषा प्रयोग नगर्न भट्टराईको निर्देशन थियो । योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘एकदिन यस्तो दिन आउनेछ, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’ उहाँले आफू अकस्मात मन्त्रालय सम्हाल्न आइपुगेको भन्दै सबैको सल्लाहले काम गर्ने बताउनुभयो ।

सपथ ग्रहण गरी पदभार ग्रहण गर्ने क्रममा मन्त्री भट्टराईले आफूलाई निर्वाचित गर्ने ताप्लेजुङका मतदातालाई समेत सम्मान व्यक्त गर्नुभएको छ । आफ्ना निकटमा मित्र एवं यसअघिका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई समेत स्मरण गर्दै उहाँले अधिकारीकै उत्तराधिकारीका रुपमा आफूले काम गर्ने बताउनुभएको छ ।

पदभार ग्रहणपछिको मन्तव्यमा भट्टराईले भन्नुभयो, ‘रवीन्द्र अधिकारीको दुखद निधनले हामीले एउटा असल राजनीतिकर्मी गुमाएका थियौं । मैले एक टिकट मित्र गुमाएको थिए । आज परिस्थितिले, घटनाक्रमहरुले उहाँ बस्नुभएको कुर्सीमा म आइपुगेको छु । उहाँसँग मैले सुख र दुख सबै क्षणमा लामो समय बिताएको छु । यो मन्त्रालय उहाँले नै अझै राम्ररी सम्हाल्न सक्नुहुन्थ्यो । यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो । तर अफसोच ! प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सक्दैनौं । उहाँलाई हामीले अल्पायुमै असमायिक ढंगले गुमाउनुर्पयो । आज उहाँको एउटा उत्तराधिकारीको रुपमा म यहाँ आइपुगेको छु ।’

यसो भन्दा आफूलाई गर्व महशुस हुने भन्दै मन्त्री भट्टराईले मन्त्रालयको गरिमालाई माथि उठाउने प्रतिवद्धता गर्नुभएको छ । उहाँले मन्त्रालय सम्हालेका जति पनि अग्रजहरु हुनुहुन्छ, उहाँहरु सबैसँग आवश्यक राय सल्लाह लिएरै म अगाडि बढ्ने बताउनुभयो ।

फाेटाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे वेभसाइटबाट

Facebook Comments