पोखरामा म्यानपावरको नाममा रहेको अबैध एजेन्ट सम्पर्क कार्यालयमा सिलबन्दी
पोखरामा अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको एजेन्ट सम्पर्क कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ ।
पोखराको नागढुंगामा पाल्ही ओभरसिज (लाइसेन्स नम्बर ५९४र०६२÷६३) को नाममा अबैध तरिकाले चलाइएको कार्यालयमा सामान जफत गरी सिलबन्दी गरेको हो ।
म्यानपावरको नाममा अबैध तरिकाले संचालन भैरहेको सूचना ’बैदेशिक रोजगार’ एप मार्फत प्राप्त भएको थियो । सो लगत्तै एप टिमले बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालको ध्यानाकर्षण गरेको थियो ।
सो पश्च्यात बैदेशिक रोजगार विभागबाट संचालन अनुमति नलिई शाखा संचालन भएको भन्दै तत्काल बन्द गर्न विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई निर्देशन दिनुभएको थियो ।
महानिर्देशकले पोखरा कार्यालयलाई निर्देशन दिएको २ घन्टामा नै श्रम कार्यालय र जिल्ला प्रशासन कार्यालयको कर्मचारी टोलीले कार्यालयको निरिक्षण गरी सिलबन्दी गरेको हो ।
निरिक्षणको क्रममा म्यानपावर कार्यालय अबैध रुपमा नै चलेको पुष्टिभएसंगै कार्यालयमा रहेका ल्यापटप, सिसि क्यामरको हार्ड डिस्क, पासपोर्टका फोटोकपी लगायत अन्य डकुमेन्ट आवश्यक अनुसन्धानका लागि जफत गरिएको छ ।
अनुगमन टोलि पुग्दा कार्यालयमा ५ जना कर्मचारी भेटिएका थिए । नारायण प्रसाद पोखरेलले अबैध रुपमा शाखा कार्यालय चलाएको श्रम कार्यालयका सुचना अधिकारि छन्द नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरेलले यस अघि विभागबाट संचालन अनुमति लिए पनि सरकारले एजेन्ट व्यवस्था खारेज गरेसंगै उनको कार्यालय खारेजीमा परेको थियो ।
सरकारको निर्णयसंगै सो कार्यालय खारेज गरिएको म्यानपावर संचालक पुष्पराज पैकराले जानकारी दिनुभयो ।
पोखरेललाई बैधानिक रुपमा सम्पर्क कार्यालय हटाउन यस अघि नै सचेत गराइएको र हटाईएको बारे म्यानपावर कम्पनीले लिखित कागत गरेकोले विभागमा राखिएको २ लाख धरौटी रकम लिने प्रक्रियामा रहेको पैकराले जानकारी दिनुभयो ।
यस अघि गत सोमबार आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा। लिको ९६८८र०६३÷६४) नाममा पोखराको सभागृह र सृजनाचोक विचमा कार्यालय नै राखेर चलाइएको शाखामा पनि श्रम कार्यालयले शिलबन्दी गरेको थियो ।
त्यस्तै अबैध रुपमा नै संचालन भइरहेको प्याराडाइज इन्टर्नेशनलको सञ्चारमाध्यममा समाचार आएपछि बन्द भएको थियो ।
यो संगै अन्य केहि म्यानपावर कम्पनीका पनि शाखा कार्यालय चलिरहेको गुनासो आउने गरेको भन्दै त्यस्ता अबैध शाखा भेटिएमा सबै बन्द गरिने श्रम कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

