काेराना भाइरसका कारण स्वास्थ् संकटकाल
चीनमा स्वास्थ्य क्षेत्रमा चुनाैतिपूर्ण बनेकाे कोरोना भाइरस अब अन्य मुलुकका लागि समेत टाउकाे दुखाइ बनेकाे छ ।
चीनमा मात्रै काेराेना भाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ ।
यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएकाे छ । चीनकाे सबै क्षेत्रमा काेराेना भाइरसका संक्रमित भेटिएका छन् ।
शुरूमा हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुमा देखिएकाे हाे ।
यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १४० पुगेको छ । तीमध्ये ६ वटा अमेरिकामा, २ वटा बेलायतमा छन् । त्यसैगरी, रुसमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । थाइल्याण्ड, हङकङ, सिंगापुर लगायतका मुलुकमा समेत काेराेना भाइरसका संक्रमित फेला परेका छन् ।
कोरोनाको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहरहरु सुनसान बनेका छन्, मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन् ।
नयाँ कोरोनोभाइरसको उत्पत्ति थलो भनिएको वुहान शहरमा फसेका विदेशी नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी छ । अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत, बंगलादेश, भारत, सिंगापुर लगायतका मुलुकले आफ्ना नागरिकहरुलाई विशेष विमान पठाएर उद्दार गरिसकेका छन् ।
चीनले सुरक्षाका लागि अन्य मुलुकबाट २० कराेडकाे संख्यामा मास्क मगाएकाे छ । कतिपय मुलुकले नागरिकहरूलाइ चीन जान प्रतिबन्ध लगाएका छन् भने चीनबाट फर्किएकाहरूलाइ विशेष निगरानीमा राखेका छन् ।
काेराेना भाइरस नयाँ भएकाले यस विरूद्ध खाेप बनेकाे छैन । फ्रान्सको पाश्चर इन्स्टिच्यूट फाउण्डेसनले आगामी २० महिनाभित्रमा वुहान नोबेल कोरोनाभाइरसका विरुद्ध खोप बनाउने लक्ष्यका साथ एउटा विशेष टीम तयार गरेको छ ।
यसैवीच चीनमा उडान भर्ने विभिन्न एअरलाइन्सहरूले उडान रद्द गर्न थालेका छन् ।

